कर्णालीमा कृषि उत्पादन पाँच प्रतिसतले घट्यो, प्रमुख बाली सबैमा गिरावट

काठमाडौँ, ५ मंसिर । कर्णाली प्रदेशमा चालु आर्थिक वर्षको समीक्षा अनुसार कृषि, उद्योग र पर्यटन सहितका अधिकांश क्षेत्रमा उतार–चढाव देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार कर्णालीको कृषि उत्पादन तथा बालीले ढाकेको क्षेत्रफल अघिल्लो वर्षको तुलनामा उल्लेख्य रूपमा घटेको छ ।

राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्म कर्णाली प्रदेशको समग्र कृषि बालीले ढाकेको भूभाग ०.०८ प्रतिशतले घटेको छ  । प्रमुख खाद्य बालीमध्ये धान, मकै, गहुँ, कोदो र जौँको खेती क्षेत्र क्रमशः ५.११, ४.१६, ४.८६, ११.५२ र १.३९ प्रतिशतले कमी आएको छ । तरकारी तथा बागबानीको क्षेत्रफलमा १४.९१ प्रतिशतको गिरावट देखिएको छ भने फलफूल खेतीको क्षेत्रफल भने २.४० प्रतिशतले विस्तार भएको छ ।
उत्पादन पक्षमा समग्र कृषि उत्पादन ५.०१ प्रतिशतले घटेको राष्ट्र बैंकको प्रतिवेदनले देखाउँछ। धान, गहुँ, कोदो र जौँको उत्पादनमा दोहोरो अंकको गिरावट देखिए पनि मकै उत्पादन भने ४.२४ प्रतिशतले वृद्धि भएको छ । तरकारी उत्पादन ०.८८ प्रतिशत र फलफूल उत्पादन ३६.४१ प्रतिशत ले घटेको उल्लेख गरिएको छ ।

कृषि क्षेत्रमा वित्तीय प्रवाह पनि सिमित बनेको प्रतिवेदनले बताएको छ । बैंक तथा वित्तीय संस्थाबाट कृषि क्षेत्रमा प्रवाहित कर्जा कुल कर्जाको ८.०२ प्रतिशत मात्रै रहेको छ, जुन अघिल्लो वर्षभन्दा ७.७० प्रतिशतले कम हो । औद्योगिक क्षेत्रको औसत क्षमता उपयोग ४६.५२ प्रतिशत रहेको छ । बिजुली तार तथा केबल उत्पादन उद्योगको क्षमता उपयोग सबैभन्दा उच्च ९० प्रतिशत रहेको छ भने गलैंचा उद्योग २३.०८ प्रतिशत मा झरेको छ। औद्योगिक कर्जा प्रवाह पनि अघिल्लो वर्षको तुलनामा १.९४ प्रतिशतले घटेको छ ।

पर्यटन क्षेत्रमा भने मिश्रित अवस्था देखिएको छ। यस वर्ष प्रदेशमा प्रवेश गर्ने पर्यटक संख्या १.७२ प्रतिशतले बढेको छ । तर भारत र चीनबाट आउने पर्यटक क्रमशः २३.८५ र २५.७७ प्रतिशत ले कमिएका छन् । तेस्रो मुलुकबाट आउने पर्यटक भने ९.१३ प्रतिशतले बढेका छन् ।
प्रदेशमा कुल कर्जामध्ये सबैभन्दा धेरै ८५.४७ प्रतिशत कर्जा सेवा क्षेत्रमा प्रवाहित भएको छ । कर्णालीमा हाल वाणिज्य बैंक तथा वित्तीय संस्थाका ४७५ शाखा र १८ शाखारहित बैंकिङ सेवा सञ्चालनमा छन् । कर्जा–निक्षेप अनुपात (CD Ratio) ६६.८५ प्रतिशत रहेको छ ।

विद्युत् पूर्वाधारका रूपमा कर्णालीमा ३,५७५.७४ सर्किट किलोमिटर प्रसारण लाइन पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । साथै पुष्पलाल लोकमार्ग, कर्णाली करिडोर, मदन भण्डारी राजमार्ग तथा भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको कामले गति लिएको प्रतिवेदनमा उल्लेख छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

सबै

धेरै पढिएको

सबै

प्रविधि

सबै

समाचार

सबै

पशुपन्छी

सबै

↑