मिठाईमा प्रयोग हुने कच्चा पदार्थ र उत्पादन मिति खुलाउन खाद्य विभागको निर्देशन

काठमाडौं, ३० असोज । दसैँ, तिहार तथा छठलगायतका चाडपर्वलाई लक्षित गर्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मिठाई तयार गरी बिक्री वितरण गर्ने व्यवसायीलाई मिठाईको गुणस्तर, स्वच्छता र उत्पादनमा प्रयोग भएका कच्चा पदार्थबारे जानकारी खुलाउन निर्देशन दिएको छ ।

उपभोक्ताको स्वास्थ्य सुरक्षा तथा हित संरक्षणका लागि मिठाई व्यवसायीले उत्पादन गरेको मिठाई कुन कुन कच्चा पदार्थको सम्मिश्रणबाट बनेको हो, कुन तेल तथा घिउमा तयार गरिएको हो र त्यसमा प्रयोग भएका सामग्रीको विवरण स्पष्ट खुलाउन विभागले आग्रह गरेको हो ।

विभागले मिठाई तयार गर्ने व्यवसायी, मिठाई पसल, मिठाई भण्डार तथा मिठाई व्यवसायीलाई आफूले उत्पादन तथा बिक्री गर्ने मिठाईको विवरण उपभोक्ताले देख्ने गरी राख्न निर्देशन दिएको छ ।

विभागका अनुसार मिठाईको नाम, मुख्य सम्मिश्रण, तेल वा घिउको प्रकार, उपभोग गर्नुपर्ने मिति र मूल्य प्रतिकिलो स्पष्ट उल्लेख गर्नुपर्नेछ । यसका लागि व्यवसायीले मिठाईको विवरण देखिने स्थानमा राख्नुपर्ने व्यवस्था गरिएको छ ।

विभागले खाद्य स्वच्छता तथा गुणस्तर कायम राख्न मिठाई उत्पादन र बिक्री वितरणमा विशेष ध्यान दिन आग्रह गरेको छ । साथै, खाद्य स्वच्छता तथा गुणस्तरका आधारमा स्तरीकरण गराई ‘खाद्य स्वच्छता लोगो’ लिएर व्यवसाय सञ्चालन गर्नसमेत जानकारी गराएको छ ।

चाडपर्वका समयमा मिठाईको माग बढ्ने भएकाले उपभोक्तालाई सुरक्षित, स्वच्छ र गुणस्तरीय मिठाई उपलब्ध गराउन व्यवसायीले आवश्यक मापदण्ड पालना गर्नुपर्ने विभागले जनाएको छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

सबै

धेरै पढिएको

सबै

प्रविधि

सबै

समाचार

सबै

पशुपन्छी

सबै

↑