इलाम, ३१ असार । इलामको फाकफोकथुम गाउँपालिका–५ का युवा उद्यमी तुलसी पिठाकोटेले बहुखेती प्रणाली अपनाएर वार्षिक लाखौँ आम्दानी गर्दै स्थानीयस्तरमा रोजगारीसमेत सिर्जना गरेका छन् ।
खडकुडे बहुउद्देश्यीय कृषि फार्म सञ्चालन गरेका पिठाकोटेले २५ रोपनीमा अलैँची, नौ रोपनीमा चिया र सात रोपनीमा किबी खेती गर्दै आएका छन् । उनको फार्मबाट वार्षिक करिब ३५ क्विन्टल किबी, १५ मन अलैँची र एक हजार किलोग्राम चिया उत्पादन हुने गरेको छ ।
कृषिबाट नै वार्षिक करिब रु २० लाख बचत गर्न सफल भएका उनले आफ्नो फार्ममार्फत १५ जनालाई रोजगारी पनि उपलब्ध गराएका छन् । “कृषिमा डटेर लागेपछि भविष्य बन्यो । कृषिमा बगाएको पसिनाले सपना पनि फल्दो रहेछ,” पिठाकोटेले बताए ।
उनले आगामी दिनमा किबीबाट जुस, जाम र वाइन उत्पादन गरी मूल्य अभिवृद्धि गर्ने तथा आधुनिक भट्टीमार्फत अलैँची प्रशोधन गर्ने योजना बनाएका छन् । तर किबी भण्डारण गर्ने पूर्वाधार र आधुनिक प्रशोधन केन्द्रको अभाव चुनौतीका रूपमा रहेको उनको भनाइ छ ।
फाकफोकथुम गाउँपालिकाका अध्यक्ष दीपेन्द्र खनालका अनुसार पिठाकोटेलाई कृषिमा प्रोत्साहन गर्न पालिकाले ५० प्रतिशत अनुदानमा कृषि उपकरण उपलब्ध गराएको छ । गाउँपालिकाले यस्ता व्यावसायिक किसानलाई प्रोत्साहन गर्दै कृषि उद्यम विस्तारमा सहयोग गरिरहेको जनाएको छ । रासस















प्रतिक्रिया थप्नुहोस्