बैतडी । चाडपर्व नजिकिँदै गए पनि बर्सातका कारण अवरुद्ध ग्रामीण सडक समयमै मर्मत नहुँदा बैतडीका किसानले बारीमा उत्पादन भएका कृषि उपज बजारसम्म पुर्याउन समस्या झेल्नुपरेको छ ।
ग्रामीण सडक अवरुद्ध हुँदा बन्दा, काउली, काँक्रो, फर्सी, पिँडालुलगायतका तरकारी तथा कृषि उपज बजारसम्म पुर्याउन नसकिएको किसानले बताएका छन् । पुर्चौडी नगरपालिका-२ का किसान प्रेमबहादुर बमले सडकको अवस्था सुधार नहुँदा उत्पादन ढुवानी गर्न कठिन भएको बताए ।
सुर्नया गाउँपालिका-५ का किसान दलबहादुर विष्टले सडककै समस्याका कारण बारीमा उत्पादन भएको बन्दा बजार पठाउन नसकिएको बताए । बजारमा माग बढ्ने समयमा उत्पादन बिक्री गर्न नसक्दा बारीमै तरकारी सड्न थालेको उनको भनाइ छ ।
चाडपर्वका समयमा पहाड र तराईतर्फ आवतजावत गर्ने यात्रुको चाप बढ्ने भए पनि ग्रामीण क्षेत्रका कच्ची सडक समयमै मर्मत नहुँदा यात्रुले समेत सास्ती खेप्नुपरेको छ । सिगास गाउँपालिका-३ का स्थानीय चन्द्र धामीले बर्सातका कारण बिग्रिएका सडक समयमै मर्मत नहुँदा आवतजावतमा समस्या भएको बताए ।
यातायात व्यवसायी राम विष्टले चाडपर्वमा यात्रुको चाप बढ्ने भएकाले ग्रामीण सडकको अवस्था तत्काल सुधार गर्नुपर्ने बताए । सडक कमजोर हुँदा यातायात सञ्चालनमा समेत समस्या हुने उनको भनाइ छ ।
यसैबीच, चाडपर्वका समयमा जिल्लामा सहज आपूर्ति, यातायात तथा आवतजावत, सडक मर्मतसम्भार, सरसफाइ र सुरक्षा व्यवस्थालगायत विषयमा छलफल भएको छ । प्रमुख जिल्ला अधिकारी मीना अर्यालको संयोजकत्वमा सरकारी, निजी तथा गैरसरकारी निकायका प्रमुख तथा प्रतिनिधिको बैठकले बर्सातका कारण अवरुद्ध सडक सञ्चालन तथा आवश्यक मर्मतसम्भार गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
बैतडीका किसान पछिल्लो समय धान र मकैसँगै तरकारी खेतीतर्फ समेत आकर्षित हुँदै आएका छन् । कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख सुशील न्यौपानेका अनुसार पाटन नगरपालिका आलु उत्पादनका लागि तथा दशरथ चन्द नगरपालिका, पुर्चौडी नगरपालिका, सुर्नया र शिवनाथ गाउँपालिका तरकारी उत्पादनका लागि सम्भावनायुक्त क्षेत्र हुन् । डिलासैनी गाउँपालिका तरकारीसँगै उखु उत्पादनका लागि परिचित छ ।
कृषि उपजको उत्पादन बढ्दै गए पनि सडक तथा बजारको पहुँच सहज नहुँदा किसानले उत्पादनको उचित मूल्य पाउन समस्या भइरहेको न्यौपानेले बताए ।















प्रतिक्रिया थप्नुहोस्