इलाम नगरपालिका-४ जस्बिरेस्थित उद्योगका सञ्चालक गृष्म सुब्बाका अनुसार उद्योगले स्थानीय १८५ घरपरिवारले उत्पादन गर्ने हरियो चियापत्तीका साथै आफ्नै ६० रोपनी र भाडामा लिएको ४०० रोपनी क्षेत्रको हरियोपत्ती प्रशोधन गर्दै आएको छ ।
उद्योगले यसअघि वार्षिक ३० हजार केजी अर्गानिक अर्थोडक्स चिया उत्पादन गर्दै आएकोमा यस वर्षदेखि उत्पादन क्षमता बढाएर एक लाख केजी पुर्याउने लक्ष्य लिएको छ ।
"दुई वर्षअघि आगलागीले सबै तहसनहस बनायो। करिब रु ८ करोडको क्षति व्यहोरेपछि फेरि शून्यबाट यात्रा सुरु गरेका छौँ," सञ्चालक सुब्बाले भने ।
एक दशकअघि रु १४ लाख लगानीबाट सुरु भएको उद्योग अहिले रु ८ करोडभन्दा बढी लगानीको आधुनिक चिया उद्योगमा रूपान्तरण भएको छ । उद्योगको प्रमुख आकर्षण 'स्पेशल टी' हो, जसको वार्षिक उत्पादन करिब ७ हजार केजी हुन्छ । त्यसमध्ये करिब २ हजार केजी चियाको कोमल सुइरो (बड) बाट मात्र तयार गरिन्छ ।
उद्योगका अर्का सञ्चालक शरद सुब्बाका अनुसार उद्योगले प्रतिकेजी रु १५ हजार मा बिक्री गर्ने स्पेशल टी विदेशी बजारमा पुग्दा रु एक लाखसम्ममा बिक्री हुने गरेको छ ।
नेपालसँगै अमेरिका, जापान, फ्रान्स, चीन, नेदरल्याण्ड, डेनमार्क र जर्मनीसम्म जस्बिरे चियाले आफ्नो बजार विस्तार गरिसकेको उनले बताए ।
उद्योगको सफलतामा सुब्बा परिवारका सबै सदस्यको सक्रिय भूमिका रहेको छ । 'नेपाल टी च्यालेन्ज-२०२४' का 'बेस्ट टी मेकर' शरद सुब्बाले उत्पादनको गुणस्तर सम्हालिरहेका छन् भने गृष्म सुब्बाले बजार व्यवस्थापन, अन्य सदस्यहरूले प्राविधिक तथा अन्तर्राष्ट्रिय प्रवर्द्धनको जिम्मेवारी सम्हालिरहेका छन् ।
जस्बिरे क्षेत्रमा चियाखेती विस्तारको अभियान विसं २०४२ मा स्वर्गीय भैरव रिसालले सुरु गरेका थिए । त्यही अभियानले आज यस क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरको अर्गानिक चिया उत्पादन केन्द्रका रूपमा चिनाएको छ ।
हाल उद्योगले सुनकेसरी, रेड पान्डा, कोठीडाँडा ब्युटी लगायत ३५ भन्दा बढी प्रकारका अर्गानिक अर्थोडक्स चिया उत्पादन गर्दै आएको छ । उद्योगबाट उत्पादन हुने स्पेशल टी नेपाली चियाको अन्तर्राष्ट्रिय पहिचान स्थापित गर्ने महत्वपूर्ण उत्पादनका रूपमा स्थापित भएको छ ।















प्रतिक्रिया थप्नुहोस्